बर्दिवास (महोत्तरी) — संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको अवस्थामा पत्रकारहरूमाथि भइरहेको धरपकड र पक्राउले लोकतन्त्रलाई नै गम्भीर खतरामा पारेको सरोकारवालाहरूले बताएका छन्। बर्दिवास नगर पत्रकार संजालद्वारा आज आयोजित विशेष खबरदारी कार्यक्रममा बोल्दै वक्ताहरूले पछिल्लो समय राज्य संयन्त्रबाट भइरहेका गतिविधिप्रति कडा आपत्ति जनाएका हुन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यका हरेक निकायका आ–आफ्नै जिम्मेवारी र अधिकार क्षेत्र भए पनि पत्रकारहरूले सम्प्रेषण गरेका समाचारको स्रोत र प्रमाण खोज्ने बहानामा पक्राउ गर्नु आपत्तिजनक भएको बताए। "समाचारको स्रोत खोज्न पत्रकार समात्नु सुशासनको मर्मविपरीत हो," एक वक्ताले भने, "यसले गलत कार्य गर्नेहरूलाई राज्यले प्रोत्साहन गरिरहेको गलत सन्देश प्रवाह गर्दछ।"

पछिल्लो समय संविधानको मर्ममाथि प्रहार हुने गतिविधि बढ्दै गएको भन्दै सहभागीहरूले यो विषय पत्रकारहरूको मात्र नभई सम्पूर्ण नागरिकको साझा चासो र चिन्ताको विषय बन्नुपर्नेमा जोड दिए।

प्रेस स्वतन्त्रताको रक्षा हुनु भनेको संविधान, लोकतन्त्र र नागरिकको मौलिक अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनु भएको ठहर गर्दै संजालले पत्रकारहरूमाथिका सम्पूर्ण गैरकानुनी धरपकड तत्काल रोक्न सरकारसँग माग गरेको छ।